नियम १५
सरकारी पक्षको साक्षी, गवाहलाई उपस्थित गराउने

(१) अदालतले सरकारी पक्षको साक्षी गवाहलाई उपस्थित गराउने दिनको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो सूचना पाएपछि निर्धारित मिति र समयमा सरकारी वकील मार्फत त्यस्ता साक्षी, गवाहलाई अदालतमा उपस्थित गराउने कर्तव्य प्रहरीको हुनेछ । अदालतले प्रमाण बुझ्न मुकरर गरेको मितिसम्ममा विदेश गै सक्ने वा अन्य कुनै कारणले उपस्थित हुन नसक्ने तर नबुझी नहुने किसिमका साक्षी, गवाहलाई अदालत समक्ष प्रस्तुत गरिएमा अदालतले तत्कालै बुझ्न सक्नेछ ।
(२) अदालतको आदेशबमोजिम प्रहरीले सरकारी पक्षको साक्षी, गवाहलाई तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा उपस्थित गराउन नसक्नाको मुनासिब माफिकको कारण खोली सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका पदाधिकारी वा भद्र भलादमीहरूको रोहबरमा अनुसूची–१४ बमोजिमको ढाँचामा मुचुल्का खडा गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्नु पर्नेछ । सरकारी वकीलले उक्त मुचुल्कासमेत संलग्न राखी पुन साक्षी गवाह उपस्थित गराउनका लागि समय माग गरी अनुरोध गरेमा अदालतले त्यसरी माग गरिएको समयमा पुन साक्षी गवाह उपस्थित गराउने आदेश दिन सक्नेछ ।
(३) यस नियमबमोजिम साक्षी गवाहलाई अदालतमा उपस्थित गराउँदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउनेछ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी, गवाहलाई राजपत्र अनंकित प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइने छ । सरकारी कर्मचारीलाई साक्षी, गवाहको रुपमा  उपस्थित हुनु पर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट
नै त्यस्तो रकम दिइनेछ ।